आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२१ भदौ २०८२
आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत ?  (भिडियो रिपोर्ट)

काठमाडौं, २१ भदौ । लामो समयदेखि शिथिल बनेको नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ४.६१ प्रतिशतले बढेको अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत थियो । यस्तै नागरिकस्तर प्रत्यक्ष प्रभाव पार्ने मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो ५.४४ प्रतिशत थियो ।

गत आर्थिक वर्षमा आन्तरिक अर्थतन्त्रका केही सूचक समेत सकारात्मक देखिएका छन् । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशतले बढ्दा निजीक्षेत्रमा जाने कर्जा ८.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशतले मात्र बढेको थियो । यद्यपि गत आवको कर्जा विस्तार लक्ष्यको तुलनामा धेरै कम हो । गतवर्ष सरकारले बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । उक्त लक्ष्यलाई सघाउनेगरी केन्द्रीय बैंकले निजीक्षेत्रमा जाने कर्जा १२ प्रतिशतले बढाउने लक्ष्य राखेको थियो ।

रेमिट्यान्सका कारण निक्षेपमा भइरहेको वृद्धि र कर्जाको मागमा आएको संकुचनले बैंकिङ प्रणालीमा अहिले प्रशस्त तरलता अर्थात् लगानीयोग्य रकम छ । प्रणालीमा पैसा थुप्रिँदै गएपछि राष्ट्र बैंकले बजारबाट सातामै तीन पटकसम्म पैसा खिच्नुपरेको छ ।

गत आवमा हालसम्मकै धेरै २४६ खर्ब ४८ अर्ब तरलता प्रशोचन गरिएको छ । केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधामार्फत रू.२१५ खर्ब ८ अर्ब र निक्षेप संकलन बोलकबोलमार्फत ३१ खर्ब ४२ अर्ब तरलता प्रशोचन गरेको हो, जुन अघिल्लो आवको तुलनामा ५ गुणाले बढी हो । सो वर्ष ३८ खर्ब ६८ अर्ब तरलता खिचिएको थियो ।

ब्याजदरलाई वाञ्छित सीमामा राख्न राष्ट्र बैंकले ‘ब्याजदर करिडोर’ सञ्चालनमा ल्याएको छ । ब्याजको न्यूनतम र अधिकतम दरको सीमा नै ब्याजदर करिडोर हो । हाल माथिल्लो सीमा (सिलिङ रेट) ६ प्रतिशत कायम छ । यो दर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा भुक्तानी गरिने ब्याजदर हो । मध्यम दर अर्थात् पोलिसी रेट ४.५ प्रतिशत छ । यो एक दिनका लागि बैंकहरूले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने दर हो । यस्तै तल्लो सीमा २.७५ प्रतिशत कायम गरिएको छ । यो निक्षेप संकलनमार्फत राष्ट्र बैंकले बजारबाट पैसा झिक्दा बैंक तथा वित्तले पाउने ब्याजदर हो । अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम भएपछि राष्ट्र बैंकले अहिले विभिन्न औजारमार्फत पैसा तानिरहेको हो ।

गत शनिवारवारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७२ खर्ब ४१ अर्ब रहेको छ । यस्तै लगानीमा रहेको कर्जा ५६ खर्ब ६ अर्ब रहेको छ । यसअनुसार बैंकहरूको कर्जा निक्षेप अनुपात ७६.३९ प्रतिशत रहेको छ । यसको अर्थ बैंकिङ प्रणालीमा ९ खर्ब ८५ अर्ब बराबर तरलता कायम छ ।

त्यसो त बैंकहरूबाट कर्जा प्रवाहमा सुस्ती मात्र होइन, गएको कर्जाको गुणस्तर समेत खस्किएको छ । गत असारसम्ममा बैंकहरूको निष्क्रिय कर्जा ४.६२ प्रतिशत रहेको छ । अघिल्लो असारमा यो ४.४५ प्रतिशत थियो । गत असारसम्ममा सबैभन्दा धेरै निष्क्रिय कर्जा वित्त कम्पनीको ११.५, विकास बैंकको ५.०३ र वाणिज्य बैंकहरूको ४.४४ प्रतिशत रहेको छ । सो अवधिमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति समेत ४२ प्रतिशतले बढेर ५० अर्ब ५५ करोड पुगेको छ ।

प्रस्तुत छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस