काठमाडौं, २२ भदौ । एशियन लाइफ इन्स्योरेन्सले आजदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरेको छ ।
कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको गरेको थियो । उक्त हकप्रद शेयरमा आवेदन नपरेको शेयर बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीले संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३.९१ कित्ता लिलाम बिक्रीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
शेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् ।