काठमाडौं, २३ भदौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको प्रदर्शनमा उत्रिएका जेनजी संघीय संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।
तीनकुने र माइतीघरतर्फबाट आएका प्रदर्शनकारी बानेश्वरमा भेला भएपछि प्रहरी बीचमा परेको थियो । केही प्रदर्शनकारी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरेका छन् ।
उनीहरू संसद् भवन प्रवेश गरेसँगै प्रहरीले हवाई फायर गरेको छ ।
उत्तेजित हुन थालेका प्रदर्शनकारीले सरकारविरुद्ध नारा चर्काएका छन् । प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ भने पानी फोहोरा र लठ्ठी चार्जसमेत गरेको छ ।