काठमाडौं, २४ भदाै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री पौडेलले मंगलबार राजीनामा दिएका हुन् ।
‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ मन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
मन्त्री पौडेलले ‘अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा अडिग रहेर आफू राजनीतिमा होमिएको बताउँदै आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको उल्लेख गरिरहेका छन् । ‘जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मूकदर्शक बन्न मेरो आत्माले मानेन,’ मन्त्री पौडेलले लेखेका छन् ।
आफूले लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको पदबाट राजीनामा दिएको पौडेलले बताएका छन् ।
उनले भनेका छन,’राज्य विधि र पद्धतिले चल्नु पर्छ। विधि र पद्धतिमाथि आँच आयो भने त्यसको रक्षा गर्न जुनसुकै मुल्य चुकाउन पनि तयार हुनु पर्दछ। लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनु पर्छ र असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गरिनु पर्छ। आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो। यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्छ। उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो।’
यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका थिए।