काठमाडौं, २४ भदौ । नेपाल प्रहरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सार्वजनिक शान्ति र सुरक्षा कायम गर्न सबैको सहयोग मागेको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले मंगलबार जारी गरेको अपिलमा आन्दोलनका क्रममा नागरिक र सुरक्षाकर्मी दुवैको ज्यान गएर सम्पूर्ण देश मर्माहत भएको उल्लेख छ ।
प्रहरीले घाइतेहरूको उद्धार, उपचार र क्षतिको पुनर्निर्माणका लागि शान्तिपूर्ण सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ । साथै आपराधिक समूहबाट थप क्षति हुन नदिन सबै पक्ष सचेत रहन आग्रह गरिएको छ ।
अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धानमार्फत कानुनी शासन स्थापित गर्न नागरिकहरूको सहकार्य मागिएको छ । नेपाल प्रहरीले नागरिक–प्रहरी साझेदारीलाई बलियो बनाउँदै आफ्नो राष्ट्रिय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।
