काठमाडौं, २६ भदाै । नयाँ सरकार गठनका लागि राष्ट्रपति र जेन–जीबीच आज वार्ता हुँदै छ ।
जेन–जी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकारको नेतृत्व दिन सहमत भएसँगै आज राष्ट्रपति रामचन्द्र पौडेलसँग निर्णाय वार्ता हुन लागेको हो । वार्ता नेपाली सेनाको समन्वयमा जङ्गीअड्डामा हुनेछ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले साेमबार गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
मेयर बालेनले हिजो राति नै कार्कीलाई नेतृत्वका लागि समर्थन गर्ने बताइसकेका छन् । जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गरिदिन जेनजीले राखेको प्रस्ताव स्वीकार्ने बताइसकेकी छन् ।