अन्तरिम सरकार प्रमुख सुशीला कार्की अत्यन्त सकारात्मक, छिटाे शपथ ग्रहण गराऊँ : डा. भट्टराई

अनलाइनसमय |
२७ भदौ २०८२
अन्तरिम सरकार प्रमुख सुशीला कार्की अत्यन्त सकारात्मक, छिटाे शपथ ग्रहण गराऊँ : डा. भट्टराई

काठमाडौं, २७ भदाै । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन जीका युवाहरूले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही रहेको बताएका छन् ।

भट्टराईले शुक्रबार आफ्नो विज्ञप्ति जारी गर्दै प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई समर्थन गर्दै यस्तो बताएका हुन् ।  भट्टराईले कार्की सक्षम, स्वच्छ र निर्भीक व्यक्तित्व भएकाले सम्पूर्ण देशले वहाँलाई सहयोग र समर्थन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले विज्ञप्तिमा भनेका छा्, “अब वहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनु पर्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।”

अहिलेको सन्दर्भ र २०६९ सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष नियुक्त गरिएको नजर मेल नखाने पनि उनले बताएका छन् ।

“त्यतिबेला विद्यमान अन्तरिम संविधान २०६३ मा राजनीतिक सहमतिका आधारमा कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) बीचको सहमति बुझ्नुपर्छ भनेर स्पष्टीकरण समेत त्यहीँ राखिएको थियो,’ डा. भट्टराईले भनेका छन्, ‘तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजीले धेरै संवेदनशील भएर सोच्नुपर्छ ।”

अहिलेको आन्दोलन भन्दा पनि ठूलो बलिदानपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन जीको दीर्घकालीन हितमा हुने पनि भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस