काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक प्रक्रियामार्फत समाधानको बाटो खोज्न सक्रिय भूमिका खेलिरहेको जनाएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले संघीय संसद् भवन र सचिवालयसहित देशभर भएका आगजनीका घटनाले मुलुकलाई गम्भीर र अपूरणीय क्षति पुर्याएको उल्लेख गरेका हुन् ।
‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ ।’
