काठमाडौं, २७ भदौ । नेपालको पहिलो महिला प्रधानन्यायाधीशको इतिहास बनाइसकेकी सुशीला कार्की अहिले पहिलो महिला प्रधानमन्त्रीको रूपमा पनि नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
जेनजी आन्दोलनले एमाले–कांग्रेस गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री बन्ने मार्ग खुलेको हो । अघिल्लोपटक उनी सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा देशको न्यायपालिकाको नेतृत्व गरिसकेकी थिइन् ।
गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट आक्रोशित समूहले देशभर प्रदर्शन, आगजनी र तोडफोड गरेपछि राजनीतिक संकट गहिरिएको थियो ।
यही घटनाक्रमपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछिका छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्ने सर्तमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति बनेको हो ।