काठमाडौं, ३० भदौ । सागर डिष्टिलरी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुलाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । अब कम्पनीले ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारण्का लगानीकर्ताका लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असोज १३ गतेसम्म लम्बिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।