काठमाडौं, ३१ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । साथै अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राती देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।