काठमाडौं, १ असोज । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।
जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । आज उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले राजीनामा पत्र बुझाएका हुन ।
‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ । पाठकले राष्ट रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।
गत २३ भाद्रमा जेन–जीको भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट भएको अस्वाभाविक बल प्रयोगका कारण नेपालीहरूले सहादत प्राप्त गरेको घटनाप्रति आफू अत्यन्त भावविह्वल भएको पाठकले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल स्पष्ट पारेका छन् ।
२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए । पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका थिए ।
