दुई महिनामा साढे १ खर्ब आम्दानी हुँदा विकास खर्च ६ अर्ब ३५ करोड मात्रै

अनलाइनसमय |
१ असोज २०८२
दुई महिनामा साढे १ खर्ब आम्दानी हुँदा विकास खर्च ६ अर्ब ३५ करोड मात्रै

काठमाडौं १ असोज । चालू आर्थिक वर्ष (आव)को दुई महिनामा सरकारको विकास खर्च साढे १ प्रतिशत मात्र भएको छ । गत वर्षको तुलनामा समेत खर्चको अवस्था कमजोर देखिएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौसम्म विकास लक्षित पुँजीगत खर्च ६ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ भएको छ । यो वार्षिक बजेट विनियोजनको १ दशमलव ५६ प्रतिशत हो, जुन गत आवको यसै अवधिको तुलनामा २ दशमलव ६७ प्रतिशत बिन्दुले कमी हो । सो वर्षको भदौसम्ममा यस्तो खर्च ४ दशमलव २३ प्रतिशत अर्थात १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ भएको थियो ।

चालू आवका लागि सरकारले विकास खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने गत आवका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन गरेको थियो ।

भदौ मसान्तसम्ममा सरकारले १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख रुपैयाँ चालू खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ९ दशमलव ६७ प्रतिशत हो । गत वर्षको यसै अवधिमा ७ दशमलव २८ प्रतिशत अर्थात ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ चालू खर्च भएको थियो ।

२०८२/८३ को लागि सरकारले चालू खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सो अवधिमा वित्त व्यवस्थापनतर्फ ५९ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ खर्च भएको महालेखाको तथ्याङ्कमा उल्लेख छ ।

सरकारको आम्दानी साढे १ खर्ब
चालू आवको दुई महिनामा सरकारको आम्दानी १ खर्ब ५७ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ भएको छ । यो वार्षिक लक्ष्यको १० दशमलव ६४ प्रतिशत हो, जुन गत वर्षको यसै अवधिको तुलनामा १ दशमलव ०८ प्रतिशत बिन्दुले कम हो । २०८१ को भदौसम्म ११ दशमलव ७२ प्रतिशत अर्थात् १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ आम्दानी भएको थियो ।

सरकारले यस वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस