काठमाडौं, २ असोज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि खुलेको शेयर बजारमा तीन पटक नकारात्मक सर्किट लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । कारोबार भएको एक घण्टामै नेप्से परिसूचक ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेको हो ।
कारोबार खुलेको २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि ११ बजेर २२ मिनेट मा खुलेको नेप्से परिसूचक ११ बजेर २३ मिनेटमा नै ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।
पुनः १२ ः ०४ बजे खुलेको नेप्से फेरि थप १ प्रतिशत अर्थात् ६ प्रतिशतले घटेपछि तेस्रो सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार स्थगित भएको हो ।
आज नेप्से परिसूचक १६० दशमलव ३३ अंकले घटेर २ हजार ५११ को बिन्दु कायम भएको छ । कुल करिब ४ मिनेट मात्रै कारोबार भयो । ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भयो ।
आज २३८ धितोपत्रको कारोबार भएको छ, जसमध्ये २१७ धितोपत्रको शेयर मूल्य घटेको छ भने ९ वटाको बढेको छ ।
आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । यस दिन व्यापार समूहको उपसूचक ९.३४ प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजम समूहको ७.२४, लगानी समूहको ७.१८, जीवन बीमाको ६.६६, बैंकिङको ५.५२, हाइड्रोपावरको ५.४० र विकास बैंकको ५.१३ प्रतिशतले घटेको छ ।