काठमाडौं, २ असोज । सरकारले अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको व्यवस्था सुरु गरेको छ । बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्त रूपमा राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कको प्रयोग शुभारम्भ गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
नयाँ प्रणालीमार्फत विदेशमा रहेका नेपाली सेवाग्राही तथा नेपाल आउने पर्यटकहरूले मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी राजस्व भुक्तानी गर्न सक्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने पर्यटकले अध्यागमन विभागका सेवाको शुल्क सजिलै तिर्न पाउनेछन् ।
यसले राजस्व संकलनलाई पारदर्शी, द्रुत, कागजरहित र अन्तर्राष्ट्रिय पहुँचयुक्त बनाउनेछ । महालेखा नियन्त्रकको कार्यालयले ‘राजस्व व्यवस्थापन सूचना प्रणालीमा International Card Network को अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई paperless, faceless बनाउनुका साथै चौविसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुनुका साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन गै Digital Economy को प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा नेपाल सरकारले लिएको छ ।’
हाललाई अध्यागमन विभाग अन्तर्गतका सेवामा मात्र प्रयोगमा ल्याइएको यो प्रणालीलाई आगामी दिनमा नेपाल सरकारका अन्य निकायहरूमा समेत विस्तार गरिने कार्यालयले जनाएको छ ।
