सैनिक मञ्च टुँडिखेलमा मनाइयो संविधान दिवस, ठूला नेताहरू अनुपस्थितकाठमाडौं, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहसहित मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित केही विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
यद्यपि अघिल्ला वर्षमा जस्तै यसपटक अन्य पूर्व प्रधानमन्त्री तथा शीर्ष दलका नेताहरू भने समारोहमा उपस्थित भएनन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूले आफ्ना–आफ्नै पार्टी कार्यालयमा कार्यक्रम गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिएका छन् ।
हालको राजनीतिक परिस्थिति र जेनजी आन्दोलनपछिको संवेदनशीलताका कारण यसपटक टुँडिखेलमा विगतमा हुने सांस्कृतिक झाँकी तथा विशेष प्रस्तुति देखिएन । तर नेपाली सेना र सुरक्षाकर्मीको व्याण्डमार्फत औपचारिक प्रस्तुति गरिएको थियो ।
नेपाली जनताको लामो संघर्ष र बलिदानको परिणामस्वरूप २०७२ असोज ३ गते नेपालको संविधान घोषणा भएको थियो । नयाँबानेश्वरस्थित संविधानसभामा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।