काठमाडौं, ३ असोज । अमेरिकाले नेपालको संविधान दिवसका अवसरमा नेपाली जनतालाई बधाई दिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमार्फत नेपाली जनतालाई बधाई दिँदै दक्षिण एसियामा स्थिरता प्रवद्र्धन गर्न र सुरक्षित संसारमा योगदान पु¥याउन नेपालसँग नजिकको सहकार्य जारी राख्ने आशा राखिएको पनि बताएका छन् ।
यस्तै उनले संविधानानुसार कार्य गर्ने पारदर्शी सरकारप्रतिको नेपाली जनताको आकांक्षालाई अमेरिकाले समर्थन गर्ने बताएका छन् । आगामी निर्वाचन लोकतान्त्रिक समाधान प्राप्त गर्न महत्वपूर्ण हुने उनले विज्ञप्तिमा भनेका छन् ।
नेपाली जनता आर्थिक विकासलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सुदृढ गर्ने र सबैका निम्ति समृद्धि बढाउने आशापूर्ण भविष्यको हकदार रहेका विज्ञप्तिमा उल्लेख छ ।
रुबियोले मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात र ऊर्जा पूर्वाधारको विस्तार, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक विकासमा सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका र नेपालबिचको साझेदारीलाई सुदृढ गर्दै अमेरिकी कम्पनीहरूका लागि व्यापारिक अवसरहरू पनि सिर्जना गर्नेछ ।’
साथै गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनमा ज्यान गुमाएकाप्रति अमेरिकाले नेपाली जनतासँगै शोक व्यक्त गरेको र मारिएका तथा घाइते भएकाकाका परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ ।
