नारायणगढ–मुग्लिनसहित सात ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध

अनलाइनसमय |
५ असोज २०८२
नारायणगढ–मुग्लिनसहित सात ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, ५ असोज । आज बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गका ७ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको आइतबार बिहान ९ बजेसम्मको जानकारीअनुसार बाढीपहिरोका कारण ७ वटा सडक पूर्ण रुपमा अवरुद्ध हुँदा ७ ठाउँका सडक वटा एकतर्फी सञ्चालनमा आएको छ ।

मुग्लिन नजिक तुइन खोलामा आएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक तीन दिनदेखि पूर्ण रुपमा बन्द छ । तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुनः सुरु गरिएको छ । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

त्यस्तै अविरल वर्षाका कारण संखुवासभाको भोटेखोला बरुणस्थित कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । यो राजमार्ग जेठ ६ गतेदेखि अझै सञ्चालनमा आउन सकेको छैन । गत भदौ १५ गतेको अविरल वर्षापछि संखुवासभाकै एकुवा भन्ने ठाउँमा पनि योराजमार्ग अवरुद्ध छ ।

गत असार २४ गते रसुवामा गएको बाढीले नेपाल र चीन नाका जोड्ने पुल र पासाङ ल्हामु राजमार्ग पूर्ण रुपमा बन्द छ । सिन्धुपालचोकको भोटेकोशीस्थित कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि बन्द छ ।

त्यस्तै, म्याग्दीको बेनीस्थित घुमाउने भिरमा पहिरो खस्दा बेनी– दरवाङ सडक र जाजरकोट–डोल्पा खण्ड (भेरी करिडोर) अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनसार रसुवाको गल्छी त्रिशुलीदेखि मैलुङ स्याफ्रु जोड्ने सडक, बाग्लुङको कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको पूर्व– पश्चिम राजमार्ग, रुकुम पूर्वको मध्य पहाडी लोकमार्ग र पाल्पा स्थित पाल्पा– गुल्मी सडम खण्ड एकतर्फी सञ्चालनमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस