आज घटस्थापना, घरघरमा जमरा राखिँदै

अनलाइनसमय |
६ असोज २०८२
आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं, ६ असोज । हिन्दूहरूको सबैभन्दा ठूलो पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ हुने यो पर्व पूर्णिमासम्म १५ दिनसम्म धूमधामसहित मनाइन्छ ।

आज बिहानै घर–घरमा कलश, गणेश र दियो स्थापनासहित वैदिक विधिअनुसार घटस्थापना गरिएको छ । गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा चोखो माटो वा बालुवा राखी त्यसमा जौ रोप्ने परम्परा छ, जसलाई ‘जमरा राख्ने’ भनिन्छ । देवी दुर्गाको प्रिय मानिने जौको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार जमरामा जौबाहेक अन्य अन्न प्रयोग गर्ने शास्त्रीय परम्परा छैन, यद्यपि कतिपय कुल परम्पराअनुसार अन्य अन्न पनि रोप्ने गरिन्छ । जमराको आयुर्वेदिक महत्व पनि छ ।

समितिले आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे तोकेको छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयकालमै प्रतिपदा परेकाले यही दिन घटस्थापना उपयुक्त ठहरिएको हो ।

नवरात्रभर देवी दुर्गाका महाकाली, महालक्ष्मी र महासरस्वती तीन रूपको विशेष पूजा–आराधना गरिन्छ । शक्तिको प्रतीक महाकाली, ऐश्वर्यको प्रतीक महालक्ष्मी र ज्ञान–बुद्धिको प्रतीक महासरस्वतीलाई वैदिककालदेखि नै नवदुर्गाका नौ दिनमा विधिपूर्वक पुज्ने परम्परा छ ।

बडादसैँको सातौँ दिन फूलपाती, आठौँ दिन महाअष्टमी, नौौँ दिन महानवमीका अवसरमा शक्तिपीठहरूमा विशेष पूजा र बलिपूजा गरिन्छ । भक्तजनले नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत जस्ता ग्रन्थको पाठ र स्तुति गर्ने गर्छन् ।

यसवर्ष विजयादशमीको साइत असोज १६ गते बिहान ११ः५३ बजे तोकिएको छ । देवी विसर्जनको साइत भने सोही दिन ९ः२३ बजे हुने समितिले जनाएको छ । दशमीपछि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गरिन्छ भने पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसेर जाग्राम बस्ने परम्परा छ ।

काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा पनि आजै घटस्थापना गरिएको छ । महानवमीको दिन त्यहाँ परम्पराअनुसार ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस