काठमाडौं, ७ असोज । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दाबी हालसम्म २२ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ५ गतेसम्ममा यस्तो दाबी २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको हो ।
यो अवधिमा सबैभन्दा धेरै ओरियन्टल इन्स्योरेन्समा परेको छ । यस कम्पनीमा पाँच अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ । यस्तै सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब आठ करोड २८ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।
तथ्यांक अनुसार बागमती प्रदेशमा मात्रै १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरका एक हजार ३४३ वटा दाबी दर्ता भएका छन् । यस्तै कोशीमा १ अर्ब ६५ लाख ३ लाख रुपैयाँ बराबरका ३२२ वटा दाबी परेको छ ।
यसैगरी मोटर बीमा एक हजार ७७८, सम्पत्ति बीमा ५३८, इञ्जिनियरिङ तथा ठेकेदार बीमा १३२, परिवहन बीमा ११ र अन्य १९ वटा दाबी परेका छन् ।
साना ठूला गरी १८ वटा बीमा कम्पनीमा जम्मा २ हजार ४७८ वटा दाबी परेका प्राधिकरणले उल्लेख गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनमा सरकारी र निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडका कारण दाबी संख्या बढेको जनाइएको छ ।