काठमाडौं, ७ असोज । अफगानिस्तानका १३ वर्षीय एक बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन् । आइतबार भएको यस घटनाले सुरक्षा अधिकारीलाई अचम्ममा पारेको छ । बालकलाई नियन्त्रणमा लिएपछि अनुसन्धान गरेर पुनः अफगानिस्तान पठाइएको बीबीसी हिन्दीले जनाएको छ ।
काम एयरलाइन्सको आरक्यू–४४०१ फ्लाइट काबुलस्थित हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजे उडेको थियो । सो विमान करिब दुई घण्टा ४२ मिनेटपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
विमान अवतरण भएपछि कर्मचारीले विमान नजिकै एक बालक देखेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए । सुरक्षाकर्मीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रारम्भिक सोधपुछमा उनले आकाशबाट जमिन कस्तो देखिन्छ भन्ने उत्सुकताले ल्यान्डिङ गियरमा बसेको बताएका छन् । उनी अफगानिस्तानको कुन्दुज शहरका बासिन्दा रहेको खुलेको छ ।
सुरक्षा विशेषज्ञका अनुसार ल्यान्डिङ गियरमा बस्ने काम अत्यन्त जोखिमपूर्ण हुन्छ । ३० हजार फिटभन्दा माथि तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्छ र अक्सिजनको मात्रा अत्यन्त कम हुन्छ । यस्तो अवस्थामा मानिस केही मिनेटमै अचेत हुने वा ज्यानै गुमाउने सम्भावना उच्च हुन्छ ।
तर यी बालक भने चमत्कारिक रूपमा जिउँदै भारतसम्म पुगेका छन् । विश्वव्यापी तथ्यांकअनुसार ल्यान्डिङ गियरमा लुकेर यात्रा गर्ने मध्ये करिब २० प्रतिशत मात्र जीवित रहने गरेको पाइएको छ ।