जेनजी आन्दोलनपछिको निजीक्षेत्र, कसरी बढाउने व्यावसायिक मनोबल ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१० असोज २०८२
जेनजी आन्दोलनपछिको निजीक्षेत्र, कसरी बढाउने व्यावसायिक मनोबल ? (भिडियो रिपोर्ट)

काठमाडौं, १० असोज । नेपालमा अघिल्लो साता भएको जेनजी आन्दोलनपछि जनजीवन सामान्य अवस्थामा फर्किएको छ । तर आन्दोलनपछि सरकार गठन भएर आइसक्दा पनि निजीक्षेत्र भने मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे अझै चिन्तित छ । हुन पनि प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति मात्र होइन, निजीक्षेत्रका दर्जनौं उद्योग व्यवसायदेखि निजी निवासम्ममा ठूलो क्षति भयो । उद्योग प्रतिष्ठानहरूमा भएको तोडफोड, लुटपाट र आगजनीले अर्बौंको क्षति मात्र भएको छैन, निजीक्षेत्रको मनोबल नै गिरेको छ ।

आन्दोलनपछि गठित सरकारको प्रमुख दायित्व आगामी ६ महीनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसमाथि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको दायित्व पनि छ । यी दुवै कामका लागि वित्तीय स्रोत व्यवस्थापनमा सरकारलाई चाप पर्ने देखिएको छ । चुनावका लागि अर्थमन्त्री रामेश्वर खनालले चालू बजेटबाटै अधिकांश स्रोतको व्यवस्थापन हुने भने तापनि कसरी हुन्छ भन्ने हेर्न बाँकी नै छ ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, रोजगारी तथा स्वरोजगारी, राजस्वको सदुपयोग लगायत मागसहित जेनजी पुस्ताले आन्दोलन गरेका हुन् । उद्देश्य सही भए पनि आन्दोलनका क्रममा भएको जनधनको क्षति अनपेक्षित थियो । निजी सम्पत्तिमा भएको आक्रमणले आन्तरिक तथा बाह्य लगानीको वातावरण खल्बलिन नदिन सरकारको ठोस योजनाको आवश्यक रहेको औंल्याइएको छ ।

जेनजी आन्दोलनका कारण सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिले अर्थतन्त्रकै मेरूदण्ड हल्लिएको छ, जसको प्रत्यक्ष असर रोजगारीदेखि राजस्वसम्म पर्नेछ । विशेषगरी होटल, रेस्टुरेन्ट र अन्य सेवा उद्योग बन्द हुँदा ठूलो संख्यामा रोजगारी गुमेको छ । उद्योग, व्यवसाय र लगानीको वातावरण नहुँदासम्म अर्थतन्त्र उठ्न नसक्ने भएकाले दीर्घकालीन सुरक्षा उपाय र संयन्त्रको खाँचो देखिएको छ ।

निजीक्षेत्रको सुरक्षासहित नीतिगत सुधार, लगानीमैत्री वातावरण र अनौपचारिक अर्थतन्त्रलाई औपचारिकमा ल्याउने कदमले मात्र मुलुक अहिलेको संकटबाट बाहिर निस्कन सक्छ । यसका लागि सर्वप्रथम व्यवसायीलाई आत्मविश्वासका साथ व्यवसाय गर्ने वातावरण बनाइदिनु राज्यको प्रमुख नीति हुनुपर्नेमा जोड दिइएको छ ।

जेनजी आन्दोलनका क्रममा निजीक्षेत्रमा ८० अर्ब बराबरको क्षति भएको प्रारम्भिक आकलन छ । नेपालको अर्थतन्त्रमा निजीक्षेत्रको ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको अध्ययनले देखाएको छ ।

प्रस्तुत छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस