काठमाडौं, १० असोज । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार सो प्रणालीको सुभारम्भ गरेका हुन् ।
सरकारी निकायबाट सम्पादन हुने कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, चुस्त र पारदर्शी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइएको अर्थ मन्त्रालयलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले विकास गरेको सो प्रणाली प्रयोगलाई अर्थ मन्त्रालयमा अनिवार्य गरिएको छ ।
यो प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नु पर्ने व्यवस्था गरिएको छ ।
यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शिघ्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता, जवाफदेहिता अभिवृद्धि हुने मन्त्रालयको अपेक्षा छ ।