पशुपति आचार्य
काठमाडौं, १२ असोज । गत भाद्र २३ र २४ गते जेनजी पुस्ताले अगाडि सारेको आन्दोलनपश्चात् देशको राजनीतिक परिदृश्य नै बदलिएको छ-सरकारको अवसान र प्रतिनिधिसभा विघटन । अन्तरिम सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने घोषणा गरिसकेको छ । यसरी मुलुकले नयाँ यात्राको दिशातर्फ कदम चालेको अवस्थामा राजनीतिक दलहरूले आफ्नो संगठनात्मक स्वरूप, नेतृत्व र रणनीतिलाई पुनःपरिभाषित, पुुरानो कार्यशैली परिवर्तन गर्नु अपरिहार्य बनेको छ । जेनजी आन्दोलनको माग पनि यहीँ हो । अब नेपाली कांग्रेसमा पनि नेतृत्व परिवर्तनको खाँचो छ, त्यसमा पनि केन्द्रदेखि नै युवाहरूले जिम्मेवारी लिन आवश्यक छ ।
इतिहासमै मुलुकलाई निर्णायक मोडमा पुर्याउने योगदान पुर्याएको पार्टी भएकाले कांग्रेससँग आम जनताको अपेक्षा अझै उच्च छ । तर पुरानै ढाँचामा अड्किएको नेतृत्व र संरचनासहित पार्टीले निर्वाचनमा जाने हो भने यसले जनतामा निराशा फैलाउने मात्र होइन, प्रत्यक्ष रूपमा चुनावी परिणाममा पनि नकारात्मक प्रभाव पार्ने निश्चित छ । त्यसैले कांग्रेसले पार्टीलाई नयाँ उत्साह, दृष्टि र नेतृत्वसहित निर्वाचनमा उतार्न आवश्यक छ, जसमा युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ ।
पार्टीभित्र अहिलेको अवस्था नियाल्दा पुरानो नेतृत्व र शैलीमै अडिग रहने हो भने कांग्रेसलाई ठूलो घाटा बेहोर्नु पर्ने संकेतहरू देखिन थालेका छन् । यस्ता परिस्थितिमा कम्तीमा ६० प्रतिशत युवा उम्मेदवारलाई निर्वाचनमा अवसर दिने गरी टिकट वितरण गरिनु जरुरी छ । यसले जेनजी पुस्ताको मात्र होइन, नयाँ सोच, नयाँ ऊर्जा र नयाँ दृष्टिकोणको प्रतिनिधित्व सुनिश्चित गर्नेछ ।
यसका लागि कांग्रेसले तत्कालै क्रियाशील सदस्य नविकरणको कामलाई ढिलाइ नगरी सम्पन्न गर्नुपर्ने देखिन्छ । साथै जेनजी पुस्तालाई नयाँ क्रियाशील सदस्य बनाई पार्टीको आगामी महाधिवेशनमा सहभागी गराउन सक्नुपर्छ । अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । उनीहरूको प्रस्ताव क्रान्तिकारी भावनामा आधारित भएजस्तो देखिए पनि व्यावहारिक हिसाबले चुनौतीपूर्ण छ ।
कांग्रेसको विधान अनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारणसहित लिखित अनुरोध गरे मात्र विशेष महाधिवेशन बोलाउन सकिन्छ । त्यस्तो निवेदन परेको खण्डमा पनि कम्तीमा तीन महिनाभित्र मात्र विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ । त्यसबेलासम्म चुनाव आइसक्छ । साथै विशेष अधिवेशन गर्दा पुरानै प्रतिनिधिबाट नेतृत्व चयन गर्ने हुनाले युवा पुस्तालाई पार्टीमा आउने बाटो बन्द हुनेछ । यसरि युवा पुस्तालाई नै बन्देज गरेमा पार्टीमा रुपन्तान्तरण र परिवर्तन सम्भव हुने छैन ।
यस्तो अवस्थामा नियमित महाधिवेशन नै उपयुक्त बाटो देखिन्छ । अहिले वडादेखि जिल्ला हुँदै केन्द्रीय तहसम्म विभिन्न भेलाहरू भइसकेका छन् । धेरै जिल्लामा क्रियाशील सदस्य नविकरण सम्पन्न भइसकेको छ भने बाँकी जिल्लामा असोज मसान्तसम्म समय दिइएको छ । सदस्यता नविकरणको समयावधि कार्तिक १५ गतेसम्म थपेमा पनि मंसिरमै नियमित महाधिवेशन सम्पन्न गर्न सकिने सम्भावना बलियो छ । महामन्त्री विश्वप्रकाशले पनि यही धारणा राख्दै पार्टीले चाहेमा मंसिरमै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न सक्ने बताएका छन् ।
यसबाहेक विधान अनुसार केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । यो कार्यकाल यसै मंसिरमा समाप्त हुँदैछ । त्यसैले विधानसम्मत रूपमा पनि अब नियमित महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्नु नै उपयुक्त हुन्छ । पार्टीभित्रै युवा पुस्ताको सहभागिता सुनिश्चित गर्दै आगामी निर्वाचनलाई लक्षित गरेर नयाँ दृष्टि प्रस्तुत गर्ने हो भने कांग्रेसले पुनः देशको प्रमुख शक्ति बन्ने आधार तयार गर्न सक्छ । तर त्यसको लागि अहिले देखिएको अलमल र ढिलासुस्ती त्याग्नुपर्छ ।
लेखक नेपाली कांग्रेसका युवा नेता हुन् ।