काठमाडौं, २१ असोज । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग्दै औपचारिक पत्र बुझाएको छ ।
जेनजी मुभमेन्ट अलायन्स समूहले मंगलबार संयुक्त रुपमा ंटंगालस्थित अख्तियार मुख्यालय पुगेर दबाबपत्र दर्ता गराएका हुन् । यो समूहले हिजो मात्रै प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । युवाहरुको दबाबपछि अख्तियारले उनीहरुको दबाबपत्र दर्ता समेत गरेको छ ।
अख्तियार प्रमुख आयुक्त राईका कार्यहरु राजनीतिक पक्षपाती रहेको र वाइडवडी घोटाला लगायतका धेरै भ्रष्टाचारका मुद्दाहरुमा राईको नाम मुछिएकाले राजीनामा दिन माग गरिएको पत्रमा भनिएको छ ।
साथै अलायन्सले अख्तियार प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना भएको आरोप लगाउँदै उनीहरूले आयोगको विश्वसनीयता गुमाएको दाबी गरेका े छ ।
आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ बिना गरेको र त्यसले अख्तियारको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ ।
जेनजी मुभमेन्ट अलायन्समा हाल ३९ वटा जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह आवद्ध छन् ।
