काठमाडौं, २१ असोज । दशैँ बिदापछि आजदेखि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८ दशमलव ५५ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ४ दशमलव ९६ को बिन्दुमा बन्द भएको छ । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते नेप्से परिसूचक शून्य दशमलव ४३ प्रतिशतले बढेर २ हजार ६५२ को बिन्दुमा कायम थियो ।
आज १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २३५२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १६ धितोपत्रको मूल्य बढेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका सबै समूहका उपसूचक घटेका छन् । अन्य समूहको उपसूचक सबैभन्दा धेरै ४ दशमलव ८३ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ समूहको १.३२, विकास बैंकको २.३८, फाइनान्सको १.१२, होटल तथा टुरिजमको २.७२, हाइड्रोपावरको २.७४, लगानी समूहको १.९१, जीवन बीमाको १.८६, उत्पादमुलक समूहको १.८५, माइक्रोफाइनान्सको १.८७, निर्जीवन बीमा २.०४ र व्यापार समूहको उपसूचक १.१७ प्रतिशत घटेको छ ।
मंगलबार भूगोल इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ८.५७, माथिल्लो मैलुङखोलाको ७.२१ र पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशतले शेयर मूल्य घटेको छ । शेयर मूल्य धेरै बढ्नेमा ऋणपत्र रहेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट छन् ।