काठमाडौं, २२ असोज । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दैछ ।खेल नेपाली समय अनुसार साँझ ८ ः ४५ बजे ओमान क्रिकेट एकेडेमी १ मा सुरु हुनेछ ।
टी–२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन्, जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ । आजको खेल जित्ने टोली सुपर सिक्समा पुग्ने लगभग निश्चित नै हुनेछ ।
९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ कुवेत र जापान छन् । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् ।
समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा अर्को समूहबाट आएका ४ टोलीसँग प्रतिस्पर्धा हुनेछ । आफ्नो समूहबाट गएको टोलीसँग भने सुपर सिक्समा प्रतिस्पर्धा हुनेछैन ।
यस पटक टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट संरचना केही फरक छ । एसिया मात्र नभएर इस्ट एसिया पेसिफिक (इएपी) समेत समावेश गरेर टी–२० विश्वकप एसिया एण्ड इएपी छनोटको नाममा आयोजना हुँदैछ ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी