काठमाडौं, २२ असोज । सरकारले आन्तरिक स्रोतबाट पूँजी जुटाउने उद्देश्यले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र–२०८९’ जारी गर्ने तयारी गरेको छ । सात वर्ष अवधिको यो ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत बोलकबोल प्रणालीद्वारा जारी गरिने भएको हो ।
कार्यालयका अनुसार इच्छुक बैंक, वित्तीय संस्था, कम्पनी, फर्म, अन्य संगठन वा व्यक्तिगत लगानीकर्ताले असोज २२ गते बुधबार दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
यस ऋणपत्रको सावाँ रकम २०८९ साल असोज २३ गते भुक्तानी गरिनेछ । ब्याज अर्धवार्षिक रूपमा तिर्ने व्यवस्था गरिएको छ भने उक्त ब्याजमा आयकर लागु हुनेछ ।
सरकारले जारी गर्न लागेको यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन वा दिन सकिने व्यवस्था समेत गरिएको छ ।