काठमाडौं, २२ असोज । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी सुजन कुमार तामाङ, तुल्सीराम बुढा मगर र खम बहादुर पुन लाई प्रतिवादी बनाई मुद्दा दायर गरिएकोे छ ।
गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ । अधिकारीविरुद्ध ५३ लाख, तामाङरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ ।
कास्कीको पोखरा–१६ बाटुलेचौरस्थित ‘लिची बगान’का नामले परिचित १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा तत्कालीन मन्त्रीहरू, कर्मचारी र बिचौलियाको संलग्नता देखिने अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती व्यक्तिहरूको बयान लिएको थियो । उक्त घूससम्बन्धी अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका थिए ।
सोही कामका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले पनि पोखराका सुजन लामासँग घुस लिएको विवरण सार्वजनिक भएको थियो । उनीभन्दा अघिकी मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि पटकपटक रकम लिएको र म्यासेज गरेरै ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भनेका विवरणहरु अख्तियारमा पेस भएका थिए । त्यस्तै, तत्कालिन सचिव अर्जुन पोखरेलले समेत रकम लिएको, पोखराबाट नै कालिज मगाएको विवरणहरु सार्वजनिक भएको थियो ।
तत्कालीन मन्त्री राजकुमार गुप्ताले कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिने बहानामा ५३ लाख रुपैयाँ घुस लिएको र सोही क्रममा भूमि समस्या समाधान आयोगको अध्यक्ष पदमा खम बहादुर पुनलाई नियुक्त गराउने सर्तमा २५ लाख रुपैयाँ घुस डिल गरिएको अडियो सार्वजनिक भएको थियो ।
जग्गा दर्ता प्रक्रियामा मालपोत कार्यालयका तत्कालीन प्रमुख अधिकारी, घरजग्गा व्यवसायी सुजन कुमार तामाङ र तुल्सीराम बुढा मगरबीच ४० प्रतिशत जग्गा बाँडफाँड गर्ने गरी करार गरिएको र त्यसलाई कार्यान्वयन गराउन उच्च तहका मन्त्रीहरूसम्म मिलेमतो भएको आयोगको ठहर छ ।