काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि प्राथमिक पूँजीको २० प्रतिशतसम्म मात्रै लगानी बिक्री गर्न सक्ने सीमा हटाएको छ । बुधबार राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै यो सीमा पूर्ण रूपमा खारेज गरेको हो ।
पहिलो प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थाहरूले एक आर्थिक वर्षमा आफ्ना कुल प्राथमिक पूँजीको अधिकतम २० प्रतिशत बराबर मात्र लगानी बिक्री गर्न पाउने व्यवस्था थियो । साथै बिक्री गर्न लागिएको लगानी कम्तीमा एक वर्षसम्म आफ्नो स्वामित्वमा रहनुपर्ने नियम पनि लागू थियो ।
तर नयाँ व्यवस्थाले अब यस्तो सीमा लागू नहुने स्पष्ट पारेको छ । यससँगै बैंक तथा वित्तीय संस्थाहरूले बजारको अवस्था र आफ्ना वित्तीय आवश्यकता अनुसार स्वतन्त्र रूपमा लगानी बिक्री गर्न सक्ने भएका छन् ।
