काठमाडौं, २३ असोज । हरियो फर्सी, घिरौला र काक्रोमा अत्याधिक विषादी फेला परेको छ । मकवानपुरबाट ल्याइएको फर्सीमा ४५ दशमलव ५९८, धादिङबाट ल्याइएको घिरौलामा ६५ दशमलव ०३० र काठमाडौंबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काक्रोमा ५२ दशमलव ९२१ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।
बिहीबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १५ पसलको १५ ओटा तरकारी तथा फलफूल परीक्षण गर्दा सो तरकारीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।