काठमाडौं, २६ असोज । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग सामना गर्दै छ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सवा चार बजेदेखि शुरु हुनेछ ।
समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो । नेपाल रहेको समूह बी बाट जापान पनि सुपर सिक्समा पुगेको छ, तर आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेलाइँदैन ।
अब सुपर–६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर–६ मा गणना हुनेछ । जसमा युएई, नेपाल र ओमानले सुपर–६ मा २–२ अंक जोडिसकेका छन् ।
९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।
नेपाली टोली ः
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी