काठमाडौं, २६ असोज । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई जारी गरिएको आईपीओको बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई आईपीओ खुला गरेको हो ।
कम्पनीले कुल जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेकोमा सोको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।
पहिलो चरणमा कम्पनीले १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । यस्तै १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १ लाख २३ हजार ९७५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २५ लाख १० हजार ४९३ कित्ता शेयर प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा जारी गर्दैछ, जसको कुल मूल्य २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबर पर्छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओ असोज २९ गतेसम्म खुला रहनेछ भने सो अवधिभित्र पूरै आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिन सक्नेछ ।
रेङ्किङ संस्थान इक्रा नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिमको संकेत गर्ने रेटिङ प्रदान गरेको छ ।
यस आईपीओको बिक्री व्यवस्थापकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ ।