काठमाडौं, २९ असोज । अर्थमन्त्री रामेश्वर खनालले अमेरिकी उच्च पदस्थ अधिकारीहरु र विभिन्न दातृनिकायका अधिकारीहरुसँग छलफल गरेका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले भेटवार्ता जारी राखेका छन् ।
खनालले आजको भेटमा संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रवद्र्धनका विषयमा छलफल गर्नुका साथै ट्रेड प्रेफरेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरे ।
त्यसै गरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुइ देश बीचको सम्बन्ध सुदृढ गर्ने लगायत आपसी हितका विषयमा संवाद भएको थियो ।
अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरे । साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाई र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराए । जापान सहयोग नियोगका प्रतिनिधिसँग विपी राजमार्ग पुनस्र्थापना, नागढुंगा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ ।
त्यसै गरी अर्थ मन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया प्रशान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा संचालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरे । सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको थियो । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।