उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो ३९ बुँदे सुधार र विकास कार्यक्रम

अनलाइनसमय |
३१ असोज २०८२
उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो ३९ बुँदे सुधार र विकास कार्यक्रम

काठमाडौं, ३१ असोज। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग क्षेत्रको विकास र विस्तारलाई गति दिन ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । आगामी माघ महिनासम्म कार्ययोजना अनुसार कार्यहरू सम्पन्न गर्ने लक्ष्यसहित यसलाई सार्वजनिक गरिएको हो ।

मन्त्रालयका अनुसार यस कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ र आपूर्ति क्षेत्रका ११ महत्वपूर्ण कार्यहरू समावेश छन् ।

कार्ययोजना मन्त्रीस्तरीय बैठकबाट निर्णय गरी कार्यान्वयनमा ल्याइएको हो । यसले सेवा प्रवाहलाई परिवर्तित परिस्थितिसँग मेल खाने गरी तत्काल सुधार गर्न सकिने विषय समेटेको छ । मन्त्रालयले औद्योगिक वातावरण सुधार गर्दै आर्थिक विकासको मार्ग तय गर्ने विश्वास व्यक्त गरेको छ ।

कार्ययोजनामा स्पष्ट समयसीमा निर्धारण गरिएको छ । त्यसअनुसार आगामी कात्तिकभित्र सात, मंसिरभित्र ११, पुसभित्र एक, माघभित्र १८ र फागुनभित्र दुई कार्य सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ । केही कार्य भने निरन्तर रूपमा अगाडि बढाइने छन् ।

मन्त्रालयका अनुसार बजेट तथा मातहतका निकायको कार्यक्रममा उल्लेखित विषयअनुसार कार्ययोजना लक्ष्य हासिल गर्न सकिने र त्यसले वस्तुनिष्ठ परिणाम दिने विश्वास लिइएको छ ।

यस कार्ययोजनाले औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्ने लक्ष्य राख्दै कम्पनी विधेयक, २०८२ को मस्यौता तयार पार्ने, गरिबी निवारणका लागि लघुउद्यम विकास योजना कार्यान्वयन गर्ने लगायतका महत्वपूर्ण कदमहरू समेटेको छ । साथै, दलित समुदायको परम्परागत तथा मौलिक पेसा संरक्षण तथा प्रवद्र्धन गरेर रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने योजना पनि कार्ययोजनामा राखिएको छ ।

उद्यमशीलता विकास र स्टार्टअप प्रवद्र्धनका लागि व्यवसाय संवद्र्धन केन्द्र सञ्चालन गर्ने योजना अगाडि सारिएको छ । स्टार्टअप कर्जा प्रवाह सहजीकरण योजनाअन्तर्गत उद्यमीहरूले बिनाधितो ३ प्रतिशत ब्याजदरमा कर्जा पाउने अवसर पाउनेछन् । मन्त्रालयका अनुसार, उद्यमीको प्रस्ताव पुस महिनाभित्र आह्वान गरी संक्षिप्त सूची प्रकाशित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस