निर्वाचन र पुनर्संरचनाका लागि सरकारले हटायो बजेट रकमान्तरको सीमा

अनलाइनसमय |
३१ असोज २०८२
निर्वाचन र पुनर्संरचनाका लागि सरकारले हटायो बजेट रकमान्तरको सीमा

काठमाडौं, ३१ असोज । सरकारले बजेट रकमान्तरको सीमा हटाएको छ । अर्थ मन्त्रालयले बिहीबार नेपाल राजपत्रमार्फत सार्वजनिक गरेको सूचनामा विनियोजन ऐन, २०८२ को दफा ५ को उपदफा ८ अन्तर्गत तोकिएको सीमा हटाइएको उल्लेख गरिएको छ ।

मन्त्रालयका निमित्त सचिव उत्तरकुमार खत्रीले राजपत्रमा प्रकाशित सूचना अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार यो सीमा हटाउने व्यवस्था गरिएको हो ।

यसअघि सो उपदफाले कुनै पनि स्वीकृत आयोजनामा थप बजेट आवश्यक परेमा सो आयोजनामा विनियोजित रकमको चार गुणाभन्दा बढी रकमान्तर गर्न नपाइने प्रावधान थियो । तर अब आवश्यकता अनुसार जतिसुकै गुणा रकम पनि रकमान्तर गर्न सकिनेछ ।

चालू आर्थिक वर्षको बजेटमा आगामी निर्वाचनका लागि छुट्टै विनियोजन नभएकाले नयाँ सरकारले घोषणा गरेको निर्वाचन खर्च व्यवस्थापनका लागि समेत बजेट रकमान्तर खुला गरिएको बताइएको छ ।

त्यस्तै जेनजी आन्दोलनबाट भएका क्षतिको पुनर्संरचना तथा अन्य महत्त्वपूर्ण आयोजना सञ्चालनका लागि पनि ठुलो मात्रामा बजेट आवश्यक पर्ने भएकाले सीमा हटाइएको बुझिएको छ । मन्त्रालयले महत्त्वका आयोजनाहरूमा समेत बजेट सीमा लागू नहुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस