काठमाडौं, ९ कात्तिक । नेपालीको मुख्य चाड दशैं, तिहारको समय (असोज)मा वैदेशिक व्यापार बढेको छ । चालू आवको असोजमा मात्रै १ खर्ब ८८ अर्ब ३९ करोड मूल्य बराबरको व्यापार भएको छ, जसमध्ये १ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २५ अर्बको निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालको वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको असोजसम्मको तुलनामा २६ दशमलव ०४ प्रतिशतले धेरै हो । सो आवको असोजसम्म ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र व्यापार भएको थियो ।
असोजमा आयात र निर्यात दुबै बढेको छ । असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गतआवको तुलनामा १९ दशमलव ७९ प्रतिशत बढी हो । गत आवको असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । असोजमा मात्र १ खर्ब ६३ अर्बको वस्तु आयात बढेको छ ।
त्यस्तै चालू आवको पहिलो त्रैमासमा निर्यात ८९ दशमलव ६४ प्रतिशतले बढेको छ । गत आवको असोजसम्म ३८ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा यस वर्षको यसै अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निकासू गरेको छ र।
असोजसम्म व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको छ, जुन गत आवको तीन महिनाको तुलनामा १२ दशमलव १८ प्रतिशतले धेरै हो । गत आवको असोजसम्ममा ३ खर्ब ५२ अर्ब रुपैयाँ व्यापार घाटा थियो ।