काठमाडौं, १४ कात्तिक । वर्षापछिको बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गका १३ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अर्घामाथिल्लो रिब्दीस्थित सन्धिखर्क गोरुसिङ्गे सडक एकतर्फी सञ्चालनमा आएको छ ।
नेपाल प्रहरीले आज बिहान १० बजेसम्मको अद्यावधिक गरेको विवरणअनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटेखोला बरुणस्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यो राजमार्ग जेठ ६ गतेदेखि अझै सञ्चालनमा आउन सकेको छैन ।
त्यस्तै, ईलामको मेचि राजमार्ग राती सवारी सवारी सञ्चालनमा रोक लगाइएको छ । पाँचथरको तमोर– करिडोर सडक खण्ड पनि पूर्ण रुपमा बन्द छ ।
प्रहरीका अनुसार ओखलढुङ्गाको मानेभञ्ज्याङमा पहिरो जाँदा सिसद्धचरण लोकमार्ग अवरुद्ध छ भने काभ्रेको कोक्सिकुना बिरुवाडाँडा, नमोबुद्ध नगरपालिक–६ स्थित चौकीडाँडा, रोशी गाउँपालिका ७, ९, ११ र नार्केस्थित विभिन्न सडकखण्ड पूर्ण रुपमा बन्द छन् ।
त्यस्तै, रसुवाको नेपाल– चीन जोड्ने पुल र पासाङल्हामु सडक बन्द छ भने सिन्धुलीको गोलन्जोरस्थित अकरेभिर र रामेछापको खाँडादेवीस्थित खैरेनीघाट मध्य पहाडी लोकमार्ग, चीतवनस्थित नारायण्गढ मुग्लिङ सडक पूर्ण रुपमा अवरुद्ध छ । मुस्ताङको जोमसोम कोरोला सडक, म्याग्दीको बेनी– दरवाङ सडक र डोल्पाको भेरी करिडोर सडक पनि बन्द रहेको प्रहरीले जनाएको छ ।
