कर्जा सूचनाको कालोसूचीमा नपर्न के गर्ने ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१४ कार्तिक २०८२
काठमाडौं, १४ कात्तिक । नेपालमा वित्तीय ग्राहकहरू कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने क्रम बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा तथा चेक अनादरसम्बन्धी सूचना राख्दै आएको संस्था कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा १ लाख २९ हजारभन्दा बढी व्यक्ति तथा संस्था कालोसूचीमा परेका छन् ।
नेपालमा कोरोना महामारीपछि वर्षमै ३० देखि ५० हजारसम्म कालोसूचीमा पर्न थालेको केन्द्रको तथ्यांक छ । कालोसूचीमा परेका व्यक्ति तथा संस्थाका प्रतिनिधि सरकारी तथा वित्तीय सेवा–सुविधाबाट वञ्चित हुन्छन् । कालोसूचीमा पर्ने क्रम बढ्दा समग्र वित्तीय क्षेत्रकै लागि चुनौती ल्याउन सक्छ ।
कालोसूचीमा पर्नेको संख्या वार्षिक रूपमा बढ्दै गर्दा गत आवको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा चेक अनादरतर्फ भने घटेको छ । विगतमा कर्जा समस्याभन्दा चेक अनादरका कारण कालोसूचीमा पर्नेहरू धेरै हुने गरेकोमा नियामक निकायले पछिल्लोपटक गरेको लचिलो व्यवस्थाले विपरीत अवस्था देखिएको छ ।
गत आवको तीन महीनामा कालोसूचीबाट ४ हजार २९८ बाहिरिएकोमा चालू आवको सोही अवधिमा ४ हजार १९० निस्किएका छन् । कालोसूचीमा नपर्न वित्तीय ग्राहक स्वयं सजग हुनुपर्नेमा जोड दिइएको छ ।
पछिल्लो समय कालोसूचीमा पर्नेमा लघुवित्तका ऋणी पनि उच्च संख्यामा छन् । गत आवको तीन महीनामा लघुवित्तका ९५० ऋणी कालोसूचीमा थपिएकोमा चालू आवको सोही अवधिमा ४ हजारभन्दा बढी छन् । एक वर्ष अवधिमा भने कालोसूचीमा पर्ने लघुवित्तका ऋणी १७८ प्रतिशतले बढेका छन् ।
प्रस्तुत छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :