काठमाडौं, १६ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको प्राथमिक शेयर (आईपीओ) सूचीकरण प्रक्रिया रोकिएको छ । दशैं र तिहारअघि नै आईपीओ बाँडफाँड सकिएका यी कम्पनीहरूको सूचीकरण नेप्से कर्मचारीको आन्दोलनका कारण स्थगित भएको हो ।
सूचीकृत हुन बाँकी कम्पनीहरूमा दरमखोला हाइड्रो इनर्जी लिमिटेड (लि), माविलुङ इनर्जी लि, स्वस्तिक लघुवित्त वित्तीय संस्था लि, बन्दीपुर केबलकार लि, बुङ्गल हाइड्रो लि, झापा इनर्जी र सागर डिष्टिलरी लि रहेका छन् ।

नेप्सेका कर्मचारीले बोनसको माग र कार्यकारी प्रमुख चुडामणी चापागाई तथा अध्यक्ष हेमन्त बस्यालको राजीनामाको मागसहित गत असोज ७ गतेदेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनका कारण सूचीकरणसहितका प्रशासनिक कार्य प्रभावित भएका हुन् ।
नेप्से कर्मचारी संघले सीईओ र अध्यक्षको नियुक्ति प्रक्रिया र कार्यशैलीबारे छानबिन गर्न सरकारसँग माग गरेको छ ।