काठमाडौं, १७ कात्तिक । राहदानी विभागले अबदेखि दैनिक एक हजार थान राहदानी वितरण गर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै सार्वजनिक बिदा बाहेक प्रत्येक दिन राहदानी वितरण हुने जनाएको हो ।
विभागका अनुसार विद्युतीय राहदानी आपूर्तिका लागि गत साउनमा नयाँ आपूर्तिकर्तासँग सम्झौता भइसकेको छ । सम्झौता अनुसार आगामी फागुन ११ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा सुरु हुने तयारी भइरहेकोछ ।
हाल नयाँ आपूर्तिकर्ता र पुरानो आपूर्तिकर्ताबीच ‘ह्याण्डओभर र टेकओभर’ प्रक्रिया चलिरहेको र पुस्तिकाको सीमित उपलब्धता तथा सेवाग्राहीको उच्च मागका कारण केही समस्या देखिएको विभागले जनाएको छ ।
राहदानीको अभाव नहोस् भनेर आवश्यक पहल भइरहेको विभागले जनाएको छ । साथै अर्को सूचना नआएसम्म अत्यावश्यक सेवाग्राहीले मात्र राहदानीको आवेदन दिन अनुरोध गरेको छ ।
यससँगै राहदानीका विषयमा अनधिकृत व्यक्तिहरूमाथि भर नपर्न र ठगीबाट सावधान रहन पनि विभागले आग्रह गरेको छ।
