काठमाडौं, १९ कात्तिक । नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दो छ । आयातको तुलनामा निर्यात क्षमता कम्जोर हुँदा नेपालको व्यापार घाटा बढ्दै गएको हो ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो तीन महिनामा नेपालले १३८ ओटा देशसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये १०९ देशसँग व्यापार घाटामा रहदाँ २९ देशसँग मात्रै व्यापार बचतमा छ । व्यापार घाटा भएका यस्ता मुलुकहरू पनि छन्, जोसँग नेपाललाट निर्यात नै भएको छैन । त्यस्ता मुलुकहरूमध्ये पाराग्वे पनि एक हो ।
वैदेशिक व्यापारमा धेरै नाम नसुनिएको पाराग्वेसँग नेपालले चालू आवको हालसम्म एक रुपैयाँको पनि निकासी गर्न गरेको छैन । यद्यपि आवको पहिलो तीन महिनामै यो मुलुकबाट ९४ करोड ३४ लाख रुपैयाँको वस्तु आयात गरिसकेको विभागको तथ्याङ्क छ ।
विशेषगरी पाराग्वेबाट नेपालमा कच्चा सोयाबीन तेल भित्रिने गरेको पाइएको छ । गत असोजसम्ममा यस्तो तेल सो मूल्य बराबरको ६ हजार ३६२ दशमलव ५८ किलोलिटर भित्रिएको छ । २०८२ को असोज एक महिनामै १३ करोड ३४ लाख रुपैयाँ बराबरको तेल आएको देखिन्छ ।

गत आव २०८१/८२ को पहिलो तीन महिनाको तुलनामा चालू आवको सोही अवधिमा पाराग्वेसँग नेपालको व्यापार घाटा करिब दुई गुणा बढेको छ । २०८१ को असोजसम्ममा यो देशसँग नेपालको व्यापार घाटा ३३ करोड ८९ लाख रुपैयाँ थियो । यद्यपि सो अवधिमा नेपालबाट २ लाख ५५ हजार रुपैयाँ बराबरको हातले बनाइएको कागज र तालवाद्य यन्त्र (ड्रम, झ्याली आदि) निर्यात भएको तथ्यांक छ । गत आवको पहिलो तीन महिनामा पाराग्वेबाट ३३ करोड ९२ लाख रुपैयाँ बराबरको २ हजार ३४८ दशमलव ९० किलोलिटर कच्चा तेल आयात गरिएको थियो ।