पर्यटक आगमनमा सुधार, व्यवसायी भन्छन्– महसुस गर्न पाएका छैनौं

अनलाइनसमय |
१९ कार्तिक २०८२
पर्यटक आगमनमा सुधार, व्यवसायी भन्छन्– महसुस गर्न पाएका छैनौं

सुनिता सुवेदी,

काठमाडौं, १९ कात्तिक । नेपालमा पर्यटक आगमनमा केही सुधार देखिएको छ । २०२५ को अक्टोबरमा १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल घुम्न आएका छन्, जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा ३ दशमलव ३ प्रतिशत धेरै हो । अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९१ पर्यटक आएका थिए ।

नेपालीको मुख्य चाड, अनुकूल मौसम, पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम भएकाले पनि अक्टोबरमा नेपाल आउने पर्यटक बढेका हुन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले सरकार तथा निजी क्षेत्रसँग मिलेर नेपालमा अवस्था सामान्य भइसक्यो, सुरक्षित छ जस्ता सन्देश विश्वमा तत्कालै पु¥याइएकाले पर्यटनमा सुधार आएको बताए ।

‘हामीले राम्रो समयमा निजी क्षेत्रसँग समन्वय गरेर नेपालमा अवस्था सामान्य भइसक्यो भनेर विश्वलाई सन्देश दियौं । तत्कालै क्याम्पेन चलायौं,’ उनले भने ‘ठाउँ–ठाउँमा भएका पर्यटकलाई नेपालको अवस्थाबारे बोल्न लगाएर उहाँहरूबाटै जानकारी गरायौं । नेपाल आउन पर्यटकलाई समस्या नहोस् भनेर सोसल मिडियाबाट आकस्मिक जानकारी अपडेट गरिरह्यौं ।’

गत भदौमा जेनजी आन्दोलन भएपछि पर्यटक आगमन नै घटेको थियो । अक्टोबरमा भने केही सुधार आएको हो ।

कोभिडको समयमा ठप्प जस्तै भएको पर्यटक आगमन विस्तारै लयमा फर्किएको तथ्याङ्कले देखाउँछ । २०१९ को तुलनामा पर्यटक आगमन ४.१९ प्रतिशतले बढेको छ । सो वर्षको अक्टोबरमा १ लाख २३ हजार २६७ पर्यटक नेपाल आएका थिए । पछिल्लो दुई वर्ष कोभिडका कारण पर्यटन व्यवसाय नै थला प¥यो । त्यसयताका वर्षमा भने विस्तारै नेपाल आउने पर्यटककको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाउँछ ।

व्यवसायी भन्छन्– छैन सुधार

यस वर्षको अप्रिलसम्म समान्य बढ्दै गएको पर्यटक आगमन त्यसयता जुलाईसम्म घटेर अगष्टमा केही बढेको थियो । पर्यटन क्षेत्र सुधार हुने अपेक्षा गरिरहेका व्यवसायीहरूलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले थप निराशा थप्यो । सेप्टेम्बरमा नेपाल आउने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ११ दशमलव २४ प्रतिशतले घट्यो ।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह पर्यटक व्यवसाय तथ्याङ्कले सुधार देखाए पनि वास्तविक सुधार नभएको बताउँछन् । उनले भने, ‘तथ्याङ्कले २०२४ को तुलनामा ३–४ प्रतिशतले बढेको देखाउँछ, यो राम्रो हो । अहिले दशै तिहारको बेला भएकाले विदेशी पासपोर्ट भएका गैरआवासीय नेपालीहरू परिवार भेट्न नेपाल आएकाले यो बढेको हो ।’

होटल क्षमताको एक तिहाइ पर्यटक मात्र नेपाल आएको शाह बताउँछन् । उनले भने, ‘अहिले होटलमा ३० प्रतिशत मात्र गेष्ट छन् । तथ्याङ्क अनुसार जुन व्यवसायीले अनुभूति गर्नुपर्ने छ, त्यो हामीले गर्नै पाएका छैनौ । राम्रोसँग होटल पनि भरिनुपर्ने हो, भरिएको छैन ।’

युरोपेली लगायत अन्य राष्ट्रका पर्यटक आगमन उल्लेख्य बढे पनि छिमेकी राष्ट्र भारत र चीनबाट आउने पर्यटकको सङ्ख्यामा अझै पनि सुधार भएको छैन ।

अध्यक्ष शाह भारत र चीनलाई जोड्ने सडकसञ्जालकै कारण पनि त्यहाँबाट नेपाल आउने पर्यटक घटिरहेको बताउँछन् । ‘हाम्रा छिमेकी मुलुक भारत र चीनका करोडौं नागरिकहरू आफ्नो देश बाहिर घुम्न निस्कने बेला हो यो । अहिले आएका पर्यटक सबै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै आएका हुन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलेको छैन, यो विमानस्थल सञ्चालनमा ल्याए तथा भारत र चीनलाई जोड्ने सडकसञ्जाल चुस्तदुरुस्त बनेमा अहिलेको पर्यटककको सङ्ख्या नै दोब्बर बनाउन सकिन्छ । यसको लागि होटललगायत हामीले त्यो सुविधा दिन सक्छौ’, उनले भने । नेपाल आउने पर्यटकमध्ये पनि लामो समय बस्नेहरू अहिले होमस्टेमा बस्न थालेका शाह भन्छन् ।

यसैगरी, बार्डका निर्देशक ऐर सडक तथा यातायात सुविधा राम्रो भए भारतीय पर्यटक बढ्ने बताउँछन् । ‘हालै मुस्ताङमा ७ हजारभन्दा बढी पर्यटक आए । त्यस्तै, पोखरा, चितवन, सोलुखुम्बुमा पर्यटकहरू धेरै आए भनेर म्यासेज आयो, त्यहाँ पनि भारतीयहरू धेरै छन् । उनीहरू हवाइमार्गबाट मात्रै आउँदैनन् । स्थलमार्ग हुँदै धेरै आउँछन् । सडक र यातायात राम्रो भए यो सङ्ख्या बढ्छ ।’

यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ, दुई महिना मात्र बाँकी रहँदा यो सम्भव देखिँदैन । अघिल्लो वर्ष १२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा ११ लाख ४७ हजार भित्रिए । यसअघि सन् २०१९ मा अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख ९७ हजार १९१ पर्यटक भित्रिएका थिए । यो लक्ष्य कोभिड सकिएको पाँच वर्ष नाघिसक्दा पनि भेट्न सकेको छैन ।

यसो त अहिले मुलकमा अन्तरिम सरकार छ । पछिल्लो समयको राजनीतिक अस्थिरता र सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय पर्यटकमाझ नेपालको छवि नै धमिलिएको छ । अर्थतन्त्रको मूल आधार नै पर्यटन क्षेत्रलाई लिएको मुलुकले पर्यटनमन्त्री नै पाएको छैन ।

पर्यटन व्यवसायलाई सुधार गर्नका लागि योजनासहित अघि बढ्नुपर्ने हानका अध्यक्ष शाहको जोड छ । उनले भने, ‘आन्दोलनपछि पर्यटन कुन दिशामा जान्छ ? कसरी मिलाउने भन्ने योजना बनाउनुपर्छ । ती योजनाहरू प्रष्ट रुपमा आइसकेको छैन । अहिले पर्यटनमन्त्री नै हुनुहुन्न, प्रधानमन्त्रीले नै हेरिरहनुभएको छ । अब हामी कसरी अगाडि बढ्ने त्यो योजना चाहियो ।’

बोर्डका निर्देशक ऐर हवाई यात्रा मै आधा खर्च लाग्ने भएकाले शुल्क घटाउँदा र सडकसञ्जाललाई चुस्त बनाउँदा पर्यटक आगमन बढ्ने बताउँछन् । उनले भने, ५० प्रतिशत लागत बाह्य ट्राभलिङमै हुन्छ । यसलाई जति सरल गर्न सक्यो त्यति पर्यटक चाप बढ्ने हो । हामीले एयर कनेक्टिभिटीमा पनि ध्यान दिनुपर्छ । एयर क्यारियर बढाई जहाजहरु थपेर हवाई सेवाको शुल्क घटाउनुपर्छ । देशको राजनीतिदेखि हरेक कुरामा राम्रो माहोल बन्यो भने यो सङ्ख्या माथि जान्छ ।’

यो वर्ष पर्यटक आगमन २०१९ को हाराहारीमा पुग्ने बताउँदै उनले भने, ‘अहिले नेपाललाई मात्र लिएर पनि हुदैन । केही समयअघि विश्वमै अर्थतन्त्र सुस्त थियो, अहिले केही सुधार हुँदै छ । गत भदौमा यति ठूलो घटना भयो । त्यसपछि पनि रिकभर हुनु भनेको सामान्य अवस्थाभन्दा निकै राम्रो हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस