काठमाडौं, २० कात्तिक । नेपालमा जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद्का जोखिमहरू व्यवस्थापन गर्न एसियाली विकास बैंक (एडिबी), विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) र स्विस विकास तथा सहकार्य एजेन्सी (एसडीसी)बीच सहकार्य भएको छ ।
उक्त दातृ संस्थाले तीन वर्षे सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपाल सरकारलाई विपद् जोखिम न्यूनीकरण तथा जलवायु प्रतिरोधी पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल पछिल्ला वर्षहरूमा बाढी, सुक्खा, पहिरो, हिमनदी पग्लनेजस्ता जलवायुजन्य संकटको सामना गर्दै आएको छ । जसको कारण मानवीय जीवन र अर्थतन्त्रमा गहिरो असर पारेको छ । जलविद्युत् जस्ता प्रकृतिमुखी क्षेत्रहरू–देशको आर्थिक वृद्धि र ऊर्जा सुरक्षाका आधार स्तम्भ–यी परिवर्तनका प्रत्यक्ष प्रभावमा परिरहेका छन् ।
एडीबीका लागि नेपालका निर्देशक अर्नाउड काउचोइसले भने, ‘जलवायु प्रतिरोधी पूर्वाधार र विपद् जोखिम व्यवस्थापनमा लगानी गर्नु अहिलेभन्दा महत्त्वपूर्ण कहिल्यै थिएन । यसले समुदायहरूलाई सुदृढ पार्ने, सम्पत्ति र संरचना सुरक्षित गर्ने मात्र होइन, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक वृद्धि पनि सुनिश्चित गर्छ ।’
उनका अनुसार एडीबी, आईडीए र एसडीसीले संयुक्त समन्वय र प्राविधिक सहकार्यमार्फत नेपालमा जलवायु प्रभावहरूसँग लड्ने क्षमता बढाउने र लगानीका फाइदा दीर्घकालीन रूपमा जनस्तरसम्म पुर्याउने उद्देश्य लिएका छन् ।
साझेदार संस्थाहरूले नेपाल सरकारलाई दुधकोशी नदी बेसिन (कोसी प्रदेश) भित्र लचिलो पूर्वाधार विकास गर्न तथा जलविद्युत् क्षेत्रलगायतका परियोजनाहरूमा सहयोग गर्ने योजना बनाएका छन् । नेपाल विश्वका जलवायु आघातप्रति अत्यन्त संवेदनशील देशहरूमध्ये एक हो । विश्व बैंकका मालदिभ्स, नेपाल र श्रीलंकाका विभागीय निर्देशक डेविड सिसलेन भन्छन्, ‘त्यसैले जोखिम घटाउने र संकटका लागि तयारी गर्ने निरन्तर प्रयासहरू नेपालका विकास योजनाको केन्द्रमा हुनुपर्छ । एडिबी, विश्व बैंक र एसडीसीले संयुक्त रूपमा आफ्नो अनुभव, स्रोत र प्रतिबद्धता प्रयोग गरी नेपालको दिगो विकासलाई सुदृढ बनाउनेछन् ।’
यस साझेदारीले नेपालको विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत बहुविपद् जोखिम मूल्यांकन मोडेल विकास, व्यापक प्रारम्भिक चेतावनी प्रणाली स्थापना, जलवायु जोखिम व्यवस्थापन र जलवायु प्रतिरोधी पूर्वाधारका लागि वित्तीय सेवाको प्रवद्र्धन, ज्ञान आदान–प्रदान र जनचेतना विस्तारजस्ता कार्यहरूलाई प्राथमिकता दिइनेछ ।
साथै संयुक्त विश्लेषणात्मक अध्ययन, क्षमता विकास, संस्थागत सुदृढीकरण र स्थानीय सरोकारवालासँग नजिक समन्वयमा प्राविधिक सहकार्य पनि अघि बढाइनेछ । एसडीसीका सहायक महानिर्देशक तथा एसिया–अमेरिका विभागका प्रमुख राजदूत आर्नो विकीले भने, ‘स्विट्जरल्याण्ड नेपालमा लचिलोपन र दिगो विकास प्रवद्र्धनमा दृढ प्रतिबद्ध छ । यस साझेदारीमार्फत स्विस शैक्षिक तथा निजी क्षेत्रका विज्ञहरूको टोलीलाई नेपालका सरोकारवालाहरू, एडिबी र आईडीएसँग सहकार्य गर्न परिचालित गरिनेछ, जसले विपद् जोखिम न्यूनीकरण र जलवायु प्रतिरोधी पूर्वाधारमा नवीन समाधानहरू ल्याउनेछ ।’
उनका अनुसार यो सहकार्य स्विट्जरल्याण्डको दीर्घकालीन क्षेत्रीय संलग्नता र ‘समावेशी, ज्ञान–आधारित साझेदारीमार्फत सुरक्षित र दिगो भविष्य निर्माण’ गर्ने विश्वासको प्रतिबिम्ब हो । यस साझेदारीमार्फत एडीबी, आईडीए र एसडीसीले नेपालमा दिगो र जलवायु प्रतिरोधी विकास प्रवद्र्धन गर्ने साझा प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।