जोखिमरहित छैन विद्युतीय भुक्तानी, वित्तीय ठगीबाट कसरी बच्ने ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२१ कार्तिक २०८२
जोखिमरहित छैन विद्युतीय भुक्तानी, वित्तीय ठगीबाट कसरी बच्ने ? (भिडियो रिपोर्ट)

काठमाडौं, २१ कात्तिक । नेपालको भुक्तानी प्रणालीमा डिजिटलाइजेसनले छोटो समयमै ठूलो फड्को मारेको छ । फिनटेकको विकास विस्तारले अहिले शहर, बजारदेखि ग्रामीण क्षेत्रसम्म दैनिक उपभोग्य वस्तुको खरीददेखि सार्वजनिक सेवाको भुक्तानी समेत विद्युतीय माध्यमबाटै गर्न सकिन्छ । विद्युतीय भुक्तानीका माध्यमहरूमा क्यूआर, मोबाइल बैंकिङ, वालेट, पोस जस्ता प्रविधिको प्रयोग बढ्दो छ । त्यसमा पनि ससानो भुक्तानीका लागि क्यूआर कोडमार्फत हुने कारोबारको वृद्धिदर सबैभन्दा धेरै छ । विद्युतीय भुक्तानी प्रणालीले वित्तीय सेवाप्रदायक र उपभोक्तालाई सहज बनाएको मात्र छैन, समय र लागत समेत घटाएको छ ।

सेवाप्रदायक तथा उपभोक्तामैत्री र बहुआयामिक लाभ हुँदाहुँदै पनि विद्युतीय भुक्तानी कारोबार जोखिमरहित भने छैन । विशेषगरी साइबर सुरक्षाको संवेदनशीलता उपभोक्तादेखि नियामकसम्मका लागि चिन्ताको विषय बनेको छ । विद्युतीय माध्यमबाट हुने वित्तीय ठगी र जोखिमबाट बच्न उपभोक्ता एवं सेवाप्रदायक सजग हुनुपर्नेमा साइबर सुरक्षाविद्को जोड छ ।

पछिल्लो समय वित्तीय ठगीका नयाँ नयाँ स्वरूप देखिन थालेका छन् । अपरिचित व्यक्तिले वित्तीय ठगीका लागि नयाँ नम्बरबाट फोनकल तथा मेसेज, ह्वाट्सएम, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप, इमेल आदिको प्रयोग गर्न सक्छन् । यस्तै विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धनसम्पत्ति फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना रहेको जस्ता अनेकौं बहानाका सन्देश ठगीका प्रयास हुन सक्छन् ।

नेपालमा भुक्तानी लगायत वित्तीय सेवासुविधा डिजिटलाइज्ड हुँदै गर्दा यससम्बन्धी विशेष साक्षरताको समेत ठूलो खाँचो देखिएको छ । यसलाई दृष्टिगत गर्दै राष्ट्र बैंकले वित्तीय तथा डिजिटल वित्तीय साक्षरतालाई नीतिगत रूपमै प्रवद्र्धन गर्दै आएको छ ।

विद्युतीय भुक्तानीमा क्युआरमार्फत हुने मासिक कारोबार रकम पछिल्लो ५ वर्षमा करीब १५८ गुणाले बढेको छ । २०७७ भदौमा क्यूआर मार्फत ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यस वर्षको सोही महीना १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ बराबर पुगेको छ । यस्तै कारोबार संख्या २२९ गुणाले बढेको छ । क्यूआरमार्फत हाल मासिक ४ करोडभन्दा बढी पटक कारोबार हुने गरेको छ ।

प्रस्तुत छ बिहीबार (हिजो) हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस