काठमाडौं, २५ कात्तिक । बागमती प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग करिब ३९ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ३८ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो क्षमता उपयोग ४४ दशमलव ३ प्रतिशत थियो ।
नमुना छनौटमा परेका उद्योगहरूमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेको छ भने लत्ता कपडा मध्येको गार्मेण्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको छ ।
समीक्षा वर्षमा नमुना छनौटमा समेटिएका उद्योगका उत्पादनमध्ये वियर, चुरोट, टान्सफर्मर तथा औषधीमध्येको ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइसिरप र लिक्विडको उत्पादन बढेको छ । यस्तै प्रशोधित दूध, पशुदाना, चाउचाउ, हल्का पेय पदार्थ, पश्मिना, गार्मेण्ट, रगं, इँटा, बिजुलीको उत्पादन घटेकोछ ।
सो अवधिमा अध्ययनमा समेटिएका उद्योगहरूले ६ हजार ७८ स्वदेशी र १८८ विदेशी गरी कुल ६ हजार २६६ जनालाई रोजगारी प्रदान गरेका छन् ।

दर्ता भएका उद्योगको विवरण
बागमती प्रदेशमा सञ्चालित अधिकांश उद्योगहरू काठमाडौं उपत्यका, चितवन र मकवानपुरमा अवस्थित छन् । यस प्रदेशमा रहेका प्रमुख उद्योगहरूमा छालाका जुत्ता, कपडाका जुत्ता, गलैंचा, पश्मिना, फेल्टका सामान, जीवजन्तुको आहार, ऊनको तयारी पोसाक, सुतीको तयारी पोसाक, सजावटका सामान, चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधी र सिमेन्ट उद्योगहरू पर्दछन् ।
आव २०८१/८२ मा कुल ५४३ उद्योगहरू दर्ता भएका छन् । स्थापना गरिएका यस्ता उद्योगहरूको सञ्चालनले बागमती प्रदेशको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ ।

२०८१ साउनदेखि २०८२ असार मसान्तसम्म यस प्रदेशमा दर्ता भएका ५४३ वटा उद्योगहरूको प्रस्तावित कुल पुँजी ७१ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । प्रस्तावित उद्योगहरूले कुल २४ हजार ९३ जनालाई रोजगारी दिन सक्ने देखिन्छ ।