काठमाडौं, २७ कात्तिक । मधेस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ को तुलनामा गत आवमा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ३ दशमलव ५९ प्रतिशतले घटेको हो । गत आव २०८१/८२ मा यस्तो क्षमता उपयोग ४६ दशमलव १७ प्रतिशत रहेको छ भने अघिल्लो आवमा ४९ दशमलव ७६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा मदिरा उद्योगले सबैभन्दा बढी ९९ दशमलव ५५ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ भने वनस्पती घिउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम शून्य दशमलव ६३ प्रतिशत रहेको छ । यस्तै प्लाष्टिकजन्य उद्योगको र छाला तथा छालाको सामान उत्पादन गर्ने उद्योगको क्षमतामा अघिल्लो अवधिको तुलनामा कमी आएको देखिन्छ ।

सो अवधिमा फलामको छड तथा पत्ति उद्योगको क्षमता उपयोग ४६ दशमलव ३५ प्रतिशत, हल्का पेय पदार्थ उद्योगको क्षमता उपयोग ८८ दशमलव १२ प्रतिशत, गहुँको पिठो उद्योगको क्षमता उपयोग ७२ दशमलव ५२ प्रतिशत, भटमासको तेल उद्योगको क्षमता उपयोग ४६ दशमलव ५८ प्रतिशत, साबुन उद्योगको क्षमता उपयोग २६ दशमलव ६७ प्रतिशत, आल्मुनियम उत्पादन उद्योगको क्षमता उपयोग ८८ दशमलव ६३ प्रतिशत, केमिकल लिक्वीइड पदार्थ उद्योगको क्षमता उपयोग ५७ दशमलव ०८ प्रतिशत, सिमेण्ट उद्योगको क्षमता उपयोग ४७ दशमलव ६३ प्रतिशत, घरेलु धातुका सामान उद्योगको क्षमता उपयोग १४ दशमलव ३४ प्रतिशत रहेको छ भने लत्ता कपडा अन्तर्गतको सिन्थेटिक कपडा, अन्न तथा पशु दानाअन्तर्गत पशुदाना, स्टिलजन्य उत्पादन, चामल, धागो, चुरोट, तोरीको तेल, चिनी र ड्राई सिरप उद्योगको क्षमता उपयोग क्रमशः ६२ दशमलव ७४ प्रतिशत, ९६ दशमलव ०९ प्रतिशत, ८२ दशमलव ८३ प्रतिशत, ६६ दशमलव ६७ प्रतिशत, ५२ दशमलव ५० प्रतिशत, ७७ दशमलव ६३ प्रतिशत, ३५ दशमलव ३६ प्रतिशत, ४६ दशमलव ०७ प्रतिशत र १२ दशमलव ३३ प्रतिशत रहेको छ ।