काठमाडौं, २७ कात्तिक । आर्थिक वर्ष (आव) २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट मधेस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाहित कर्जा बढेको छ ।
नेपाल राष्ट्रका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा यस्तो प्रवाहित कर्जा ६२ अर्ब २० करोड रुपैयाँले बढेको हो । २०८१ असारसम्ममा १ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा २०८२ को सोही अवधिमा बढेर १ खर्ब २८ अर्ब ९ करोड कायम भएको तथ्यांक छ ।
समीक्षा अवधिमा यस प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६३ दशमलव ७९ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २ दशमलव १२ प्रतिशत रहेको छ । यसैगरी सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह उक्त जिल्लामा भएको देखिन्छ ।

क्षेत्रगत औद्योगिक कर्जा स्थिति
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कर्जा१ खर्ब २८ अर्ब ९ करोडमध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१ दशमलव ७६ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३७ दशमलव ३९ प्रतिशत, निर्माण उद्योगतर्फ ५ दशमलव २६ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ४ दशमलव १३ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ शून्य दशमलव ५८ प्रतिशत र खानी उद्योगतर्फ ०.८९ प्रतिशत कर्जा प्रवाह भएको छ ।
समग्रमा अघिल्लो आवको तुलनामा औद्योगिक कर्जा विस्तारमा ५ दशमलव ११ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा निर्माण उद्योगतर्फ प्रवाह भएको कर्जामा शून्य दशमलव ४१ प्रतिशतले, खानी सम्बन्धी कर्जामा शून्य दशमलव ३६ प्रतिशतले, गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ १ दशमलव ९२ प्रतिशतले र धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स र धातुका सामान उत्पादनतर्फ ०.२४ प्रतिशतले कमी आएको छ भने कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३ दशमलव ०२ प्रतिशत विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ शून्य दशमलव १२ प्रतिशतले वृद्धि भएको छ ।
