काठमाडौं, २७ कात्तिक । मधेश प्रदेशमा कृषि उत्पादन बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘मधेश प्रदेशको आर्थिक गतिविध अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२’ अनुसार गत आवमा यस प्रदेशको समग्र कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला)को उत्पादनमा १० दशमलव २६ प्रतिशतले बृद्धि बढेको छ । सो अवधिमा ६६ लाख १ हजार ७ सय ४२ मे.टन उत्पादन भएको अनुमान छ । अघिल्ल्लो वर्षको सोही अवधिमा यस्तो बालीको कुल उत्पादनमा शून्य दशमलव २८ प्रतिशतले घटेको थियो ।
कृषि उत्पादन बढ्दा उत्पादन हुने क्षेत्रफल भने घटेको छ । गत आवमा मधेश प्रदेशमा प्रमुख कृषि बालीहरूअन्तर्गत खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसलाले ओगटेको भूभाग १ दशमलव ९३ प्रतिशतले घटेर १० लाख २४ हजार ५ सय ६८ हेक्टर कायम भएको छ । अघिल्लो वर्षमा यस्तो क्षेत्रफल ३ दशमलव ९९ प्रतिशतले बढेर १० लाख ४४ हजार ७ सय ५६ हेक्टर रहेको थियो ।
समीक्षा अवधिमा समग्र खाद्य तथा अन्य बालीअन्तर्गत धान, मकै, गहुँ, जौ, कोदो, फापर, आलु, उखु, भटमास, सुर्ती, सनपाट, दलहन, तेलहन आदि बालीले ओगटेको भू–भागमा १ दशमलव ४९ प्रतिशतले घटेर ८ लाख ५५ हजार ४ सय ६७ हेक्टर पुगेको छ । अघिल्लो वर्षमा समग्र खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा ५ दशमलव १९ प्रतिशतले बढेको थियो ।
आव २०८१/८२ मा धान बालीले ओगटेको क्षेत्रफलमा २.३७ प्रतिशत, गहुँ २.८८, सुर्ती ६.४७ प्रतिशत र दलहनले ओगटेको क्षेत्रफल ४.९४ प्रतिशत घटेको छ भने ेआलुले ओगटेको क्षेत्रफल १०.९३ प्रतिशतले बढेको छ ।
मधेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल :

यसैगरी गत आवमा मधेशमा खाद्य तथा अन्य बालीको उत्पादनमा सबैभन्दा बढी सर्लाही जिल्लाको हिस्सा १९.७५ प्रतिशत र सबैभन्दा कम रौतहट जिल्लाको हिस्सा ६.३९ प्रतिशत रहेको छ । तरकारी तथा बागवानीतर्फ सबैभन्दा बढी महोत्तरी जिल्लाको हिस्सा २२.४६ प्रतिशत र सबैभन्दा कम पर्सा जिल्लाको हिस्सा ६.३० प्रतिशत रहेको छ ।
फलफूल तथा मसालातर्फ सबैभन्दा बढी सप्तरी जिल्लाको हिस्सा ३१.५१ प्रतिशत र सबैभन्दा कम पर्सा जिल्लाको हिस्सा १.८३ प्रतिशत रहेको छ ।
