गण्डकीको जीडीपीमा उद्योगको हिस्सा १६.५ प्रतिशत, घट्यो औसत क्षमता उपयोग

अनलाइनसमय |
२८ कार्तिक २०८२
गण्डकीको जीडीपीमा उद्योगको हिस्सा १६.५ प्रतिशत, घट्यो औसत क्षमता उपयोग

काठमाडौं, २८ कात्तिक । गण्डकी प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ को तुलनामा गत आवमा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग शून्य दशमलव ०३ प्रतिशत विन्दुले घटेको हो । गत आव २०८१/८२ मा यस्तो क्षमता उपयोग ३९ दशमलव १९ प्रतिशत रहेको छ भने अघिल्लो आवमा ३९ दशमलव २२ प्रतिशत रहेको थियो । यो १४ ओटा उद्योगको औसत उपयोग क्षमता हो ।

समीक्षा अवधिमा यस प्रदेशमा औसत क्षमता उपयोगभन्दा बढी उत्पादन क्षमता भएका उद्योगमा बिस्कुट उद्योगको ६५ दशमलव ३१ प्रतिशत, वियरको ६४ दशमलव ६० प्रतिशत, लिक्विड औषधीको ६० दशमलव २३ प्रतिशत, चुरोटको ५४ दशमलव ८५ प्रतिशत, तोरीको तेलको ५० दशमलव ९९ प्रतिशत, चकलेटको ४५ दशमलव २९ प्रतिशत, सिमेन्ट उद्योगको ४४ दशमलव ५४ प्रतिशत प्रतिशत रहेका छन् ।

औसतभन्दा कम उत्पादन क्षमता भएकामा क्याप्सुल औषधीको ३८ दशमलव ६४ प्रतिशत, चाउचाउको ३१ दशमलव ४८ प्रतिशत, प्रशोधित दुध २६ दशमलव २९ प्रतिशत, ट्याब्लेट औषधीको २५ दशमलव ४६ प्रतिशत, ईटा उद्योगको १९ दशमलव ७६ प्रतिशत, ओइन्टमेन्ट औषधीको १४ दशमलव ९० प्रतिशत र ड्राई सिरप औषधीको ६ दशमलव ३७ प्रतिशत रहेको देखिन्छ ।


समीक्षा वर्षमा चाउचाउ, क्याप्सुल औषधी, वियर, चुरोट, प्रशोधित दुध, ड्राई सिरप औषधी र तोरीको तेलको उत्पादनमा क्रमशः ४४ दशमलव ९८ प्रतिशत, १५ दशमलव ५६ प्रतिशत, १२ दशमलव २६ प्रतिशत, १० दशमलव ५३ प्रतिशत, ३ दशमलव ४८ प्रतिशत, २ दशमलव १९ प्रतिशत र १ दशमलव ८० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी ईटा, ओइन्टमेन्ट औषधी, ट्याब्लेट औषधी, चकलेट, लिक्विड औषधी, बिस्कुट र सिमेण्टको उत्पादनमा क्रमशः ५१ दशमलव ८२ प्रतिशत, १३ दशमलव ८२ प्रतिशत, १२ दशमलव ७५ प्रतिशत, ७ दशमलव ६९ प्रतिशत, ७ दशमलव ६७ प्रतिशत, ६ दशमलव ०१ प्रतिशत र २ दशमलव ३९ प्रतिशतले कमी आएको छ ।

जीडीपीमा उद्योगको हिस्सा १६.५ प्रतिशत
आव २०८१/८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १६ दशमलव ५ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । गत वर्ष यस्तो हिस्सा १६ दशमलव ८ प्रतिशत रहेको थियो । यस प्रदेशको उद्योग क्षेत्रमा साना र मझौला उद्योगहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

आव २०८१/८२ को फागुन मसान्तसम्ममा गण्डकी प्रदेश मातहत दर्ता भएका कुल उद्योगको सङ्ख्या ६८ हजार १ सय ४९ पुगेको छ भने वाणिज्य फर्मको सङ्ख्या ६७ हजार ८ सय ४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस